नुवाकोटका सबै स्थानीय तहको वनमा डढेलो

नुवाकोटका सबै स्थानीय तहको वनमा डढेलो

नुवाकोट, १४ चैत । 
हिउँदको समय शुरु भएसँगै नुवाकोटका जङ्गल क्षेत्रमा डढेलोको घटना बढेको छ । जिल्लाका १२ वटै स्थानीय तहका वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाको अनुसार जिल्लाका जङ्गल क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यस वर्ष डढेलोको घटना धेरै गुणाले बढेको छ । उनका अनुसार जिल्लामा अहिले सामुदायिक वन ३७७ रहेका छन् भने निजी वन १५ र धार्मिक वन ३ वटा छन् । यसमध्ये अहिलेसम्म १०० भन्दाबढी सामुदायिक वनमा डढेलो लागेको वन कार्यालयले जनाएको छ । हाल एक दर्जनभन्दा बढी सामुदायिक वनमा डढेलो लागिरहेको र त्यो नियन्त्रण बाहिर छ ।

“अघिल्ला वर्षमा हिउदको समयमा वर्षात् हुने कारण आगलागी र डढेलोका घटना कमी हुने गरेको थियो”, उनले भने, “यस वर्ष हिउदमा वर्षा नहुदाँ डढेलोको घटनामा निकै वृद्धि भएको छ ।” हिउँद तथा सुख्खा मौसम भएका कारण डढेलोको जोखिम यस वर्ष झनै वृद्धि हुँदै जाने देखिएकाले सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको छ । 

जङ्गल क्षेत्रमा लाग्ने डढेलोका घटना प्राकृतिक कारण न्यून र मानवीय लापरवाही तथा त्रुटिका कारण बढी भएकाले आगलागी र डढेलेको घटनामा नियन्त्रणका लागि वन उपभोक्ता तथा स्थानीयवासी आफैँ सचेत हुनुपर्ने किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाको भनाइ छ । पछिल्लो दिनको दैनिक नै आगलागी र डढेलो नियन्त्रण र यसविरुद्धको सचेतनामा बित्दै आएको लामाले बताए। 

कहीँकतै आगो लागेको देखेमा अग्निरेखा बनाई निभाउने प्रयास गर्न तथा वडा, पालिका, वन कार्यालय, सुरक्षाकर्मीलगायतका निकायमा खबर गर्न उपभोक्तालाई अपिल गर्ने गरेको लामाले जानकारी दिए ।

धुमपान पश्चात् आगोको ठुटो जथाभावी नफाल्न, राम्रो घाँस पलाउनेलगायतका स्वार्थ राखेर जङ्गल क्षेत्रमा आगलागी हुन नदिन सबैले जिम्मेवारी पूरा गर्नतर्फ लाग्न वन कार्यालयले अनुरोध गरेको छ ।