कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

म्याग्दी,  १९ चैत ।  
कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । 

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन शुरु गर्ने तयारीसहित समय तालिका बनाएको थियो । गत हप्ता आयोजनामा काम गर्न भारतबाट आएका पाँचमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको नजिकको सम्पर्कमा रहेका ७६ को स्वाबको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो । 

पोखरास्थित प्रयोगशालामा गरिएको स्वाब नमूनाको परीक्षणका क्रममा मिस्ट्रीखोलामा कार्यरत ११ र एकजना स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताए। स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमितलाई नारच्याङमा रहेको कोरोना अस्पतालमा राखिएको छ । 
 
निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सके पनि कर्मचारी र प्राविधिकलाई कोरोना पुष्टि भएपछि पूर्व निर्धारित समयतालिका अनुसार परीक्षण उत्पादन गर्न समस्या भएको आयोजनाका स्थानीय प्रतिनिधि चूडामणि निरौलाले बताए। “सङ्क्रमित कर्मचारीलाई छुट्टै आइसोलेसनमा राखेर विद्युत्गृहको काम गरिरहेका छौँ”, उनले भने, “स्थानीय सरोकारवाला र आयोजना व्यवस्थापन पक्षसँग समन्वय गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आयोजना सञ्चालनका लागि पहल गरेका छौँ ।”

सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहको परीक्षण सरेको आयोजनाले २०७८ वैशाख १ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन गर्ने समय तालिका बनाएको थियो । विद्युत्गृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ । बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको चार किलोमिटर प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ । 

सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ । बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाइएको विद्युत्गृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी ९क्यानल० बनाएको छ ।