गृह मन्त्रालयको नक्कली लेटर प्याडमा किर्ते दस्तखत गर्ने दुइजना पक्राउ

गृह मन्त्रालयको नक्कली लेटर प्याडमा किर्ते दस्तखत गर्ने दुइजना पक्राउ

असार १७, काठमाडौं । 
गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीको किर्ते दस्तखत गरी कागज बनाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

गोप्य  सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा सरकारी छाप र दस्तखत किर्ते गरेको कागजात सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीद्वारा हस्ताक्षेरित लक्ष्मी अधिकारीको बुवाको मृत्यु नेपाल सरकारको कारण भएकोले क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी जम्मा १ अर्ब ८ करोड ७६ लाख दिने उल्लेख गरिएको किर्ते कागज, १३ थान बैंकको चेक, विभिन्न व्यक्तिहरुको राहदानी तथा नगद ४२ हजार २ सय १० रुपैयाँ समेत  प्रहरीले बरामत छ ।