अपहरणमा परेका व्यक्तिको सकुशल उद्धार, अपहरणमा संलग्न ५ जना पक्राउ

अपहरणमा परेका व्यक्तिको सकुशल उद्धार, अपहरणमा संलग्न ५ जना पक्राउ

पुस ३, मकवानपुर
अपहरणमा परेका काठमाडौं टोखा नगरपालिका-३ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २१ वर्षीय नरेश थापा मगरलाई बुधबार दिउँसो प्रहरीले सकुशल उद्धार गरेको छ । 

अपहरणमा संलग्न रहेको अभियोगमा ५ जनालाई हेटौंडा उपमहानगरपालिका-९ लामसुरेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-६ बस्ने २४ वर्षीय किसन गुरुङ, सोही ठाउँ बस्ने २९ वर्षीय आशिक लामा, काठमाडौं महानगरपालिका बानेश्वर बस्ने धनगढी घर भएका २४ वर्षीय आशिष सिजापती, कन्चनपुर श्रीपुर गाउँपालिका-६ बस्ने २९ वर्षीया सुनिता धामी र मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ लामसुरे बस्ने चितवन मेघौली घर भएकी ३६ वर्षीया सरस्वती तामाङ रहेका छन् ।

बुधबार बिहान अमलेखगंजबाट काठमाडौं जान भनी हेटौंडातर्फ जाँदै गरेको बा.२ ज ५९५ नम्बरको ट्याक्सीमा सवार मध्येका मगरलाई बा.२ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका व्यक्तिहरूले अपहरण गरेको सुचनाका अाधारमा  जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले मगरलाई हेटौंडा उपमहानगरपालिका -९ लामसुरेस्थित सरस्वती तामाङको घरमा बन्धक बनाइरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको हो । 

अपहरणमा संलग्न उनीहरूलाई अपहरण कार्यमा प्रयोग गरिएको ट्याक्सी सहित पक्राउ गरी उनीहरुमाथी अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनामा संलग्न फरार रहेका अन्य ४ जना व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।