पीडित स्याउ किसानले पाए क्षतिपूर्ति

पीडित स्याउ किसानले पाए क्षतिपूर्ति

खलङ्गा, ३ चैत ।  
जुम्ला, कालीकोट र मुगुका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । 

शिखर इन्स्योरेन्स कम्पनीले जुम्ला, कालीकोट र मुगुका २ हजार १ सय २० स्याउ किसानलाई क्षतिपूर्ति क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेलेका अनुसार मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानले क्षतिपूर्तिबापत रकम भुक्तानी पाएका छन् ।  जुम्लाको पातारासी गाउँपालिका–६ का स्याउ किसान अदिराज विष्टलाई क्षतिपूर्तिबापत १ लाख ८९ हजार भुक्तानी दिएको उनले बताए । 

पछिल्लो समयमा जिल्लामा स्याउ खेतीमा किसानको आकर्षण बढेसँगै बीमा गर्नको सङ्ख्यामा पनि वृद्धि भएको कम्पनीको शाखा कार्यालय जुम्लाका प्रमुख दीपदर्शन फडेराले जानकारी दिए। गत वर्ष असिनाका कारण स्याउ नष्ट भएपछि स्याउको बीमा गरेका किसानले क्षतिपूर्ति पाएका हुन् । 

यसैगरी छिमेकी जिल्ला कालीकोट र मुगुका १ हजार ३ सय ८२  स्याउ किसानले स्याउ बीमा गरेबापत २ करोड ५५ लाख क्षतिपूर्ति पाएको कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख फडेराले जानकारी दिए । बिमा गराएका कारण स्याउ खेतीबाट क्षति बेहोर्नु परेका किसान राहत पाएको कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछिराम महतले बताए। “कार्यालयले सबै स्थानीय तहका कृषि शाखामार्फत त्यहाँका किसानलाई बीमा गर्ने सम्बन्धी शिक्षा दिएपछि यसप्रति उनीहरुको आकर्षण बढ्दो छ,” प्राविधिक सहायक महतले भने । 

शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेका अनुसार २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम शुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बीमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् ।

स्याउ बीमा गर्दा उत्पादन नभए पनि बीमास्वरुप क्षतिपूर्ति पाउने भएकाले स्याउखेती बीमा गर्न किसान लागिपरेका हुन् । स्याउखेती बीमाले कर्णालीमा स्याउखेती गर्न किसानलाई उत्साहित बनाएको छ । जलवायु परिवर्तनका कारण एकै खालको मौसम नहुने भएकाले स्याउ बीमा गर्न किसान आकर्षित भइरहेको शाखा प्रमुख प्रमुख पाण्डे बताउछन्। 

जिल्लाका झण्डै २१ हजार घरधुरीमध्ये करीब १६ हजारभन्दा बढीले प्रत्यक्षरुपमा स्याउ खेतीमा लागेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।