एनसेलले सरकारलाई बुझायो ४ अर्ब ५० करोड लाभकर

एनसेलले सरकारलाई बुझायो ४ अर्ब ५० करोड लाभकर

१५ पुस, काठमाडौं ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

सर्वोच्च अदालतको आदेशानुसार सेयर स्वामित्व खरिद बिक्री प्रकरणमा निर्धारण भएको २२ अर्ब ४४ करोड ५३ लाख लाभकरमध्ये एनसेलले पहिलो किस्ताको रुपमा ४ अर्ब ५० करोड रुपैयाँ लाभकर बुझाएको हो ।

एनसेलले एभरेस्ट बैंकमार्फत नेपाल सरकारको राजश्व खातामा ४ अर्ब ५० करोड रुपैयाँ जम्मा गरेको हो ।

ठूला करदाता कार्यालयले २२ मंसिरमा पत्र पठाउँदै एनसेललाई १५ दिनभित्र लाभकर बुझाउन ताकेता गरेपछि एनसेलले भने निर्धारण गरिएको सबै लाभकर एकैपटक बुझाउन नसक्ने भन्दै किस्तामा कर बुझाउने सुविधान प्रदान गर्न माग गरेको थियो । ठूला करदाता कार्यालयले भने एनसेललाई किस्तामा लाभकर बुझाउने सम्बन्धमा कुनै सम्झौता नभएको जनाएको छ ।

ठूला करदाता कार्यालयका प्रवक्ता देवीप्रसाद शर्माले एनसेलबाट लाभकर वापत एभरेस्ट बैंकमा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको चेक जम्मा भएको सूचना आफूले पाएको जानकारी दिए ।