कलाकार चम्सुरीको उपचारमा लोक गायक कृष्ण कँडेलको सहयोग

कलाकार चम्सुरीको उपचारमा लोक गायक कृष्ण कँडेलको सहयोग

काठमाडौं, ४ साउन । 
लोक गायक कृष्ण कँडेलले आफ्नो टेलिभिजन कार्यक्रम इन्द्रेणीमा उठेको रकम कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई सहयोग गरेका छन् । 

दुवै मृगौलामा गम्भिर समस्या देखिएर केही सातादेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत पल्पसालाई गायक कडेलले अस्पतालमा पुगेर ७० हजार नगद सहयोग गरेका हुन् ।

सोही अवसरमा राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाहले पनि आफ्नो ब्यक्तिगत तर्फबाट १० हजार सहयोग गरेका छन् । आफुले सहयोग गर्दै गायक कँडेलले कलाकार डंगोलको सहयोगमा अपिल समेत गरेका छन् ।

विगत ५ बर्षदेखि मृगौलामा समस्यासँग जुध्दै आएकी डंगोलले आफ्नो स्वास्थ्यको समस्याका बारेमा लुकाउदै आइरहेकी थिइन् । केही साता अघि मिर्गाैला डायलासिस गर्ने क्रममा समस्या देखिएपछि मात्र उनले स्वास्थ्यसम्बन्धी जानकारी बाहिर आएको थियो ।  उनको दुबै मृगौला जतिसक्दा चाडो प्रत्यारोपण गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।

टेलिसिरियल ‘मेरी बास्सै’मा चम्सुरीको भूमिका निर्वाह गरेर चर्चित डंगोलले थुप्रै सिरियल, म्युजिक भिडियो अभिनय गर्नुको अलवा निर्देशन समेत गरेकी छन् ।

सामाजिक सञ्जालमा उनका फ्यान तथा शुभचिन्तकले स्वास्थ्यलाभको कामना गर्दै चाडैँ पर्दामा देख्न पाइयोस भनेर हौसला दिइरहेका छन् ।