राजधानीमा कोरोना संक्रमित ह्वातै बढे, देशभरी संक्रमितको संख्या १९ हजार नाघ्यो

राजधानीमा कोरोना संक्रमित ह्वातै बढे, देशभरी संक्रमितको संख्या १९ हजार नाघ्यो

१३ साउन, काठमाडौं । 
मुलुकभर आज थप ३११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको जम्मा ५ हजार ३२ पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले आज संक्रमित भेटिएका ३११ जना मध्ये काठमाडौं उपत्यकामा मात्रै ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । यो सँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

यसैगरी कोरोनाका कारण थप एक जनाको निधन भएको छ । बझाङको बुंगल गाउँपालिका–३ स्थायी ठेगाना भएका ६५ वर्षीय पुरुषको यही साउन ९ गते आफ्नै घरमा निधन भएको हो । दम रोगका बिरामी उहाँ गत असार २४ गते भारतको बैंगलोरबाट घर फर्किएका थिए । यो सँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या जम्मा ४९ पुगेको मन्त्रालयका  प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १२१ रहेको र हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको जम्मा सङ्ख्या १३ हजार ८७५ जना पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३९ रहेको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १५ हजार ३३१ व्यक्ति रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए।