कोरोनाको चपेटामा परेका अमेरिकी नागरिकका लागि ट्रम्प सरकारले ल्यायो ९ खर्ब डलरको राहत प्याकेज

कोरोनाको चपेटामा परेका अमेरिकी नागरिकका लागि ट्रम्प सरकारले ल्यायो ९ खर्ब डलरको राहत प्याकेज

वासिङटन (एएफपी), १३ पुस ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा आइतबार हस्ताक्षर गरेका छन् ।

एक साता अघि नै संसदले विधेयक पारित गरेपनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न मानिरहेका थिएनन् । रिपब्लीकन र डेमोक्रेट दुबै पार्टीको सहमतिमा पारित भएको विधेयक ट्रम्पले हस्ताक्षर गर्न नमानेमपछि दुबै पार्टीले राष्ट्रपतिमाथि दबाब दिएका थिए ।

कोभिड–१९ को चपेटामा परेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको उक्त विधेयक दोस्रो हो । यसअघि पनि ट्रम्प सरकारले करिब २२ खर्ब डलरको राहत प्याकेज वितरण गरिसकेको छ। पछिल्लो विधेयक मा ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकी संघीय कार्यालयहरु तथा साना व्यवसायहरु बन्द हुने खतरा तत्कालका लागि टरेको छ ।

फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा क्रिसमसको छुट्टी मनाइरहेका राष्ट्रपति ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मैले यो विधेयकमा हस्ताक्षर गरिदिएको छु । यसबाट बेरोजगारी भत्ता, साना व्यवसायका लागि घरभाडा, व्यक्तिगत खातामा नगद सहयोग, हवाई सेवाका कर्मचारीलाई पुनः काममा फर्कन, खोप वितरणका लागि थप रकमको व्यवस्था गर्न मद्दत गर्नेछ ।”

अमेरिकाका नयाँ निर्वाचित राष्ट्रपति जो बाइडेनले समेत दुबै सदनद्वारा पारित आम सहमतिको विधेयक तत्काल स्वीकृत गर्न राष्ट्रपति ट्रम्प समक्ष आग्रह गरेका थिए ।

त्यस्तै रिपब्लीकन सिनेटर मिट रम्नीले पनि राष्ट्रपति ट्रम्पले विधेयकमा हस्ताक्षर गरेकामा आफू निकै खुशी भएको बताएका छन् । यसअघि मिट रम्नीले आइतबार राष्ट्रपति ट्रम्पमाथि विधेयक तत्काल स्वीकृत गर्न वा भिटो प्रयोग गर्न चेतावनी दिएका थिए।