कांग्रेस सांसदद्वारा आज पनि सुनुवाइ समिति बहिस्कार

कांग्रेस सांसदद्वारा आज पनि सुनुवाइ समिति बहिस्कार
तस्विर सौजन्य : setopati

फागुन ५, काठमाडौं । मुल प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पनि संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ।

संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न आइतबार बसेको बैठक कांग्रेस सांसदले बहिस्कार गरेका हुन् । १५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने चारै जना सांसदले बहिष्कार गरेका हुन्।

संवैधानिक परिषदले प्रक्रिया नपुर्‍याई विभिन्न पाँच स‌ंवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै कांग्रेसले संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गर्दै आएको छ।

प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाको उपस्थितिविनै गत माघ ६ गते बैठक बसेर संबैधानिक आयोगका पदाधिकारी सिफारिस भएको भन्दै कांग्रेसले आपत्ती जनाउदै आएको छ।

गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र मधेसी आयोगको अध्यक्ष नियुक्ति गरेको थियो ।

कांग्रेसको बहिस्कारका बाबजुद आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ।