संविधानको घाँटी न्याक्ने काम भयो: नेता नेपाल

संविधानको घाँटी न्याक्ने काम भयो: नेता नेपाल

विराटनगर, १६ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभाले निर्माण गरेको संविधानको घाँटी न्याक्ने काम भएको बताएका छन् । सरकारबाटै संविधान लत्याएदा गम्भीर राजनीतिक सङ्कट देखापरेको अध्ययक्ष नेपालले बताए । 

शुक्रबार विराटनगरमा प्रचण्ड–नेपाल समूहद्वारा आयोजित प्रतिनिधिसभा विघटनविरुद्ध विरोध सभालाई सम्बोधन गर्दै  नेपालले आन्दोलन, सङ्घीयता र लोकतन्त्रलाई सिध्याउने खेल भएको बताए।

'देशभर प्रतिगमनविरुद्ध आवाज उठिरहेको छ,' उनले भने, 'संविधानसभाले निर्माण गरेको संविधानको घाँटी न्याक्ने काम भएको छ । सङ्घीयता र लोकतन्त्रलाई सिध्याउने खेल भएको छ ।' 

नेता नेपालले संसद् विघटनको सम्बन्धमा सर्वोच्च अदालत संविधान र जनताको भावनाअनुसार फैसला गर्ने विश्वास आफूमा रहेको भन्दै निर्वाचन आयोगले पनि नियम र कानूनअनुसार निर्णय गर्ने भएकोले पार्टी आफ्नै पक्षमा रहेको दावी गरे ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको केन्द्रीय र स्थायी कमिटिमा आफूहरुको पक्षमा दुइतिहाई बहुमत रहेकोले निर्वाचन आयोगले सोहीअनुसार पार्टीको वैधानिकता प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले जनआवाजलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले पनि सुन्नुपर्ने धारणा राख्दै संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको दावी गरे । 

कार्यक्रममा नेता योगेश भट्टराई, शिवकुमार मण्डल र भीम आचार्यले सरकारको कदमले मुलुकमा द्वन्द्व निम्त्याउने बताउँदै उक्त कदम सही नभएको तर्क गरे ।