कांग्रेसकाे एजेण्डा संविधान जोगाउने हो: गगन थापा

कांग्रेसकाे एजेण्डा संविधान जोगाउने हो: गगन थापा

चितवन, ३ फागुन । 
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताएका छन् । 

नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताए । 

संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै पूर्व मन्त्रीसमेत रहेका थापाले भने, “संविधानमा कांग्रेसको असहमति भए पनि यो साझा दस्तावेज बनेको छ, अहिले हाम्रो ऐजेन्डा यसलाई जोगाउने हो।” 

नेता थापाले इतिहासमा भएका कमी कमजोरीलाई सच्चिने गरी अहिलेको संविधान निर्माण गरिएको बताए। 

सभामा केन्द्रीय सदस्य सरिता प्रसाईंले देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै निकास दिएको बताइन्।  

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कांग्रेस एक्लैले चितवनका सबै क्षेत्रमा चुनाव जित्ने दाबी गरे ।