सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्छौ: ओली समूह

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्छौ: ओली समूह

काठमाडौं, १२ फागुन ।  
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मङ्गलबार गरेको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।

बैठकपछि नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीले शक्तिपृथकीकरण, लोकतन्त्रका मूल्यमान्यता र विधिको शासनमा विश्वास गर्ने जनाउँदै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुने भएको उसको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरिने जानकारी दिए । उनले सर्वोच्च अदालतको फैसला सधैँभरि अपेक्षित नहुने र  अवाञ्छित परिमाण नै दिन्छन् भन्ने पनि नरहेको बताए । 

“हाम्रो चिन्ता र नेपाली जनताको चाहना स्थिर सरकार, स्थायी नीति र मुलुकमा बलियो राजनीतिक स्थायित्व नै रहेको छ । यी कुरालाई फैसलाले बल पुर्याउछ वा मुलुक भोलिका दिनमा अस्थिरतातर्फ जान्छ भन्ने कुरा पर्खनुुपर्दछ”, प्रवक्ता ज्ञवालीले भने ।  पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाइने र त्यसबाट आवश्यक सुझाव लिइने तथा नेकपाले देशका विभिन्न ठाउँमा राखेका कार्यक्रमको स्वरुप परिवर्तन गरेर निरन्तरता दिने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए।

संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउने बैठक नै संसदीय दलको आधिकारिता हुने बताउदै संसद् निर्धारित समयमा नै आह्वान हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए । 

“२०६७ साल असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिँदा १७ पटक संसद्मा प्रधानमन्त्रीका लागि चुनाव गर्नुपर्याे,” उनले भने ,“मुलुकलाई त्यो ढङ्गले अन्योलमा राख्नुहुँदैन । त्यसपछाडिको परिदृश्य के हुने हुने भनेर प्रष्ट नपारिकन  जिम्मेवार मान्छेले त्यत्तिकै जिम्मेवारीबाट पन्छिन मिल्दैन ।”

प्रवक्ता ज्ञवालीले पार्टी एकताका पक्षमा सधैँ रहेको समेत बताएका छन्। उनले पार्टीभित्र गम्भीर राजनीतिक मतभिन्नता भए पनि  एकताबद्ध बनाएर लैजान सकियोस् भन्ने आफूहरुको प्रयास रहेको बताए ।