एकाअर्कालाई लड्डु खुवाएर प्रचण्ड माधवले भने, 'ऐतिहासिक फैसला'

एकाअर्कालाई लड्डु खुवाएर प्रचण्ड माधवले भने, 'ऐतिहासिक फैसला'

काठमाडौं, ११ फागुन ।  
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वोच्च अदालतको आजको फैसला ऐतिहासिक भएको बताएका छन् । 

फैसलापछि आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँहरुले फैसला सकारात्मक आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए। 

अध्यक्ष दाहालले सर्वोच्चले जनताको पक्षमा फैसला गरेको भन्दै यो जनताको जित भएको बताए । उनले भुलभुलैवामा लागेका पार्टीका नेता कार्यकर्तालाई फर्किन समेत आग्रह गरेका छन् । दाहालले भने, “ओलीसँग गएका सांसदलाई हाम्रो नेतृत्वको नेकपामा स्वागत गर्न म तयार छु ।” उनले अगाडि भने,  “अब सबै भ्रममुक्त हुनुस्, सबै काममा फर्किनुस् ।”

उनले अब हुने विरोध जुलुसलाई विजय जुलुसमा परिवर्तन गरेर मनाउन सबै नेता, कार्यकर्तालाइ आग्रहसमेत गरे । 

अर्का अध्यक्ष नेपालले अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गर्ने फैसला गरेर आफ्नो गरिमालाई बढाएको प्रतिक्रिया दिए ।  “अदालतले प्रधानमन्त्रीको कदमलाई बदर गर्ने निर्णय गरेर अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला गरेको छ”, उनले भने । 

प्रधानन्यायाधीशलगायत सबै न्यायाधीशको पनि इज्जत र प्रतिष्ठा बढाएको बताउँदै नेता नेपालले आम नेपाली जनताको चाहनाबमोजिम संविधानको प्रावधान, मूल्य र मान्यता, त्यसको व्याख्यालाई न्यायाधीशहरुले सही ढङ्गले अगाडि सार्ने काम गरेकोे नेता नेपालले बताए । “यो अत्यन्तै प्रशंसनीय काम भएको छ । सम्पूर्ण नेपाली जनता, राजनीतिक दलहरु जो आन्दोलनमा उत्रिनुभएको थियो, नागरिक समाज, मिडिया, समाजका सबै वर्ग तहका जनतालाई धन्यवाद दिन चाहन्छु”, नेता नेपालले भने । 

यसैबीच अध्यक्षद्वयले एकार्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका थिए ।