दिल्लीलाई हराउदै चेन्नाई आईपीएलको फाइनलमा

दिल्लीलाई हराउदै चेन्नाई आईपीएलको फाइनलमा
तस्विर सौजन्य : GQ India

वैशाख २८, काठमाडौं । 
इण्डियन प्रिमियर  लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै चेन्नाई सुपरकिंग्स फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा चेन्नाईले १९ ओभरको अन्तिम बलमा ४ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

पहिले ब्याटिङ गरेको दिल्लीका लागि ऋषभ पन्तले सबैभन्दा धेरै ३८ रन बनाए । शिखर धवनले १८, कोलिन मुनरोले २७ र श्रेयस अय्यरले १३ रन बनाए । इशान्त शर्माले नटआउट १० रन बनाए । चेन्नाइका लागि दीपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र ड्वेन ब्राभोले २/२ विकेट लिए ।

चेन्नाईको जितमा फाफ डुप्लेसिस र शेन वाटसनले समान ५०/५० रनको योगदान दिए । धोनी ९ रन बनाएर आउट हुदा अम्बाती राएडु २० रनमा नटआउट रहे ।

चेन्नाई र मुम्बई दुवै टिम चौथो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि यी दुवै टिम सन् २०१०, २०१३ र २०१५ मा पनि उपाधिका लागि भिडेका थिए । मुम्बई २०१३ र २०१५ मा चेन्नाईलाई हराएर आईपीएल च्याम्पियन बनेको थियो ।