विश्वकप क्रिकेट : आयोजक इंग्ल्याण्डसँग भारत स्तब्ध

विश्वकप क्रिकेट : आयोजक इंग्ल्याण्डसँग भारत स्तब्ध

असार १५, एजेन्सी । 
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार व्यहोरेको छ  ।

आइतबार भएको खेलमा घरेलु टिम इंग्ल्याण्डसँग ३१ रनले पराजित हुँदै भारतले पहिलो हार व्यहोरेको हो । यो संगै इंग्ल्याण्डले सन् १९९२ पछि पहिलो पटक भारतलाई विश्वकप क्रिकेटमा पराजित गरेको छ ।

 इंग्ल्याण्डले दिएको ३३८ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो ।

भारतका रोहित शर्माले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । रोहितले १०९ बलमा १५ चौकासहित १०२ रन बनाए । यस्तै, कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेल्दा हार्दिक पाण्डयाले ४५, ऋषब पन्तले ३२ रन जोड्दा महेन्द्र सिंह धोनीले अविजित ४२ रन जोडेपनि जीतका लागी प्रयाप्त हुन सकेन ।

भारतलाई सस्तैमा रोक्न इंग्ल्याण्डका लियाम प्लुन्केटले ३ तथा क्रिस वोक्सले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३७ रन बनाएको थियो । इंग्ल्याण्डको फराकिलो लक्ष्यमा जोनी बेयर्सटोले शतकीय इनिङ्स खेले । बेयर्सटोले १११ रन बनाए । यस्तै, बेन स्टोक्सले ७९ रनको अर्धशतकीय इनिङ्स खेल्दा जासन रोयले ६६ रनको योगदान दिए भने जोय रुटले ४४ तथा जोश बटलरले २० रन बनाए ।

भारतका मोहमद शामीले ५ विकेट लिए । यस्तै जस्प्रित बुम्राह र कुलदीप यादवको नाममा एक एक विकेट हात पारे ।

भारतलाई हराएसंगै इंग्ल्याण्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । इंग्ल्याण्डले ८ खेलबाट १० अंक जोडेको छ । इंग्ल्याण्ड तालिकाको चौंथो स्थानमा छ । पहिलो हार व्यहोरेको भारत पनि सेमिफाइनल नजिक रहेको छ । भारतले ७ खेलबाट ११ अंक जोडेको छ । भारत समूहको दोस्रो स्थानमा छ  ।