विमानमा यौन दुर्व्यवहार गरेको आरोप लागेपछि के भन्छन् स्पेसएक्सका यी संस्थापक इलोन मस्क

विमानमा यौन दुर्व्यवहार गरेको आरोप लागेपछि के भन्छन् स्पेसएक्सका यी संस्थापक इलोन मस्क

७ जेठ, काठमाडौं । 
विश्वका सर्वाधिक धनी व्यक्ति इलोन मस्कलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । 

मस्कले स्पेसएक्स रकेट कम्पनीमा छ वर्षअघि कार्यरत एक महिला कर्मचारीको शरीर उनको इच्छाविपरीत छोएको र उनलाई आफ्नो गुप्ताङ्ग देखाएको आरोप लागेपछि त्यसको खण्डन गरेका छन्।

'ती असभ्य आरोपहरू पूर्णतः असत्य हुन्,' उनले ट्विटरमा लेखेका छन्। मस्कले बिज्नस इन्साडरलाई उक्त सामग्री राजनीतिक रूपमा प्रेरित भएको बताएका छन्। 

४४ अर्ब डलरमा ट्विटर किन्ने योजना प्रभावित गर्न तथा आफ्नो राजनीतिक विचारधारामा आएको नयाँ परिवर्तनलाई दुष्प्रभाव पार्न उक्त सामग्री प्रकाशित भएको उनको दाबी छ। ट्विटर किन्ने उनको प्रस्ताव तत्कालका लागि रोकिएको छ।

बिज्नस इन्साइडरमा बिहीवार प्रकाशित एउटा समाचारमा मस्कले छ वर्षअघिको उक्त घटनालाई सामसुम पार्न ती महिलालाई साढे दुई लाख डलर दिएको दाबी गरिएको थियो। ती महिला त्यतिबेला उक्त कम्पनीमा फ्लाइट अटेन्डन्टका रूपमा कार्यरत भएको बताइएको छ।

बुधवार मस्कले सामाजिक सञ्जालबाट डेमोक्रेयाटिक पार्टीलाई आइन्दा समर्थन गर्न नसक्ने अनि आगामी निर्वाचनहरूमा रिपब्लिकनहरूलाई मत दिने घोषणा गरेका थिए।