रोजगार गुम्दा दशैँ पीडादायी

रोजगार गुम्दा दशैँ पीडादायी

कैलाली, १६ कार्तिक ।
लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुन् । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलन थालेपछि गत वर्ष चैतबाट बन्द भएका विद्यालय सञ्चालनमा नआएपछि निजी विद्यालयमा कार्यरत शिक्षकले तलब पाउन सकेका छैनन् ।

रोहितका भाइ रोहन निजामती सेवातर्फका अधिकृत हुन् । हरेक वर्ष दशैँमा रमाइलो गर्ने यी दुई भाइ यस वर्ष खासै रमाउन सकेनन् । “भाइले खसी काटेर, नयाँ लुगाकपडा किनेर धुमधामका साथ दशैँ मनायो, तर मेरो त घरमा अन्नकै समस्या शुरु भइसकेको थियो”, रोहितले भने, “मलाई निकै पीडा भयो, समाजमा शिक्षक भनेर चिनिएको मानिस छैन भन्न पनि सकिनँ । भाइले पनि यस वर्ष धुमधाम नगरौँ दाइ बेरोजगार भएको छ भनी बुझेन ।” 

टीकापुर–३ का ललिता चौधरीका दम्पती नै निजी विद्यालयमा कार्यरत शिक्षक हुन्र । ललिताको पनि रोहितको जस्तै समस्या शुरु भएको छ । कमाउने दुवै बेरोजगार भएका छन् । विद्यालय नचलेसम्म उनीहरुको घरमा समेत खुशीयाली पस्नेवाला छैन । “यस वर्ष माइत पनि गइनँ, कोरोना महामारी फैलिएको छ, सञ्चो छैन भन्ने बहानामा आफन्तकहाँसमेत टीका लगाउन गएनौँ”, ललिता भन्छिन, “छिमेकीले रमाइलो गरी दशैँ मनाएको देख्दा छोराछोरीले सताउने रहेछन् । खर्च नभएर यस वर्ष दशैँमा धेरै दुःख लाग्योे ।”

टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले सङ्क्रमण समुदायस्तरमै फैलिँदै गएकाले विद्यालय चल्ने नचल्ने अझै निश्चित नभएको बताउनुभयो । “अनलाइन कक्षा पनि प्रभावकारी छैन, विद्यालयमा भीडभाड गरेर विद्यालय चलाउनु भन्न पनि सकिएको छैन”, अवस्थी भन्छन, “विद्यालय नचलेका कारण धेरैको रोजगार गुमेको छ ।”