भागरथीको हत्या प्रकरण: बलात्कार र हत्या आरोपमा छिमेकी किशोर पक्राउ

भागरथीको हत्या प्रकरण: बलात्कार र हत्या आरोपमा छिमेकी किशोर पक्राउ

बैतडी, ५ फागुन । 
माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ ।

घटनाको १३औँ दिन पछि प्रहरीले सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । 

भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेपछि उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

भागरथीका छिमेकीसमेत रहेका आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा भागरथीको बलात्कार पछि हत्या गरेको बयान दिएको प्रहरी स्रोत बतायो । उनलाई बुधबार दिउसो ११ बजे सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ । 

सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययरत भागरथीलाई सोहि विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले  बदला लिन यो घटना गराएको  बताएका छन् । परिवारबीचको पुरानो रिसइबीले हत्या गरेको आरोपीले बयान दिएको स्रोतले बतायो । 

माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी भागरथीको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २२ गते झाँडीमा शव फेला परको थियो।