वैशाख ९ गतेबाट मण्डला थिएटरमा ‘पल्पसा क्याफे’ हेर्न पाइने

वैशाख ९ गतेबाट मण्डला थिएटरमा ‘पल्पसा क्याफे’ हेर्न पाइने

३ वैशाख, काठमाडौं । 
कोभिड महामारीको कारण अगिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’यही वैशाख ९ गतेबाट काठमाडौँमा प्रदर्शन हुने भएको छ । 

नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको हो ।

सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा हुन लागेको उक्त नाटकको प्रदर्शन समय ढिला भएसँगै नाटक खेल्ने कलाकारहरूमा पनि फेरबदल भएको छ । 

अगिल्लो वर्ष पल्पसाको भूमिकामा स्वस्तिमा खड्काले खेल्ने सार्वजनिक भए पनि समयको कारण उनी उपलब्ध हुन नसकेपछि उनको स्थानमा सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निभाउने भएकी छन् । दृश्यको भूमिका नाटक निर्देशक विमल सुवेदी आफैँले गर्ने भएका छन् । 

‘पल्पसा क्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो । यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनुदित छ । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धी कमाएको थियो।

सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ ।