क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा मध्ये एक बच्चाको मृत्यु

क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा मध्ये एक बच्चाको मृत्यु
file photo

६ वैशाख, काठमाडौं । 
पोर्चुगलका राष्ट्रिय फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डो र उनकी गर्लफ्रेन्ड जर्जिना रोड्रिग्वेजले नवजात जुम्ल्याहा बच्चा मध्ये एउटा बच्चाको मृत्यु भएको बताएका छन् ।

गत अक्टोबरमा जुम्ल्याहा बच्चा जन्माउने घोषणा गरेका यो जोडीले सोमबार सामाजिक सञ्जालमा  संयुक्त विज्ञप्ति जारी गर्दै जुम्ल्याहा मध्ये छोराको मृत्यु भएको घोषणा गरेका हुन् । 

"गहिरो दु:ख का साथ हामीले घोषणा गर्नुपरेको छ कि हाम्रो बच्चाको निधन भएको छ। यो कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा हो", रोनाल्डो र रोड्रिग्वेजले विज्ञप्तीमा उल्लेख गरेका छन् । 

गत डिसेम्बरमा उनीहरूले जुम्ल्याहा बच्चामध्ये एक छोरा र एक छोरीको आशा गरेको बताएका थिए । रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्, "हाम्रो छोरीको जन्मले मात्र हामीलाई यो क्षणमा केही आशा र खुशीका साथ बाँच्ने शक्ति दिएको छ। हामी डाक्टर र नर्सहरूलाई उनीहरूले प्रदान गर्ने सबै हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौं। हामी विनाश भएका छौं । यो कठिन समयमा गोपनीयताको लागि अनुरोध छ।"

गुमाएको सन्तानबारे  रोनाल्डो र रोड्रिग्वेज लेख्छन्, "छोरा तिमी हाम्रो परी हौ। तिमीलाई हामी सधैंभरि माया गर्नेछौं।"  

पाँच पटक वर्षका उत्कृष्ट खेलाडीको उपाधी पाएका ३७ वर्षीय रोनाल्डो रियल म्याड्रिड र युभेन्टससँग धेरै उपाधि जितेर गत वर्ष पुनः म्यानचेस्टर युनाइटेड आएका थिए ।

रोनाल्डो र उनको परिवारमा आएको बज्रपातमा विभिन्न क्लवले दुख व्याक्त गरेको छन्, 'तपाईको पीडा हाम्रो पीडा हो, क्रिस्टियानो,' म्यानचेस्टर युनाइटेडले ट्वीटमा उल्लेख गरेको छ, 'यस समयमा तपाई र परिवारलाई माया र शक्ति पठाउँदै।'

रियल म्याड्रिडले पनि आफ्नो वेब पेजमा प्रतिक्रिया दिएको छ, 'क्लब, यसका अध्यक्ष र यसका निर्देशकहरू हाम्रा प्रिय क्रिस्टियानो रोनाल्डो र उनको पार्टनर, जर्जिना रोड्रिग्वेजले अपेक्षा गरेको बच्चाको मृत्युमा गहिरो दुःख व्यक्त गर्दछ। रियल म्याड्रिड शोकमा सामेल छ। सम्पूर्ण परिवारको र तिनीहरूलाई हाम्रो सबै माया र स्नेह देखाउन चाहन्छ।'