सैनामैनामा 'स्मार्ट रिफ्रेस सेन्टर' बन्दै

सैनामैनामा 'स्मार्ट रिफ्रेस सेन्टर' बन्दै

अनिल सापकोटा,
सैनामैना, १२ मंसिर ।
रुपन्देहीको सैनामैना नगरपालिकामा लुम्बिनी प्रदेशको पहिलो स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकारको करिब साढे ३ करोड लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत र सैनामैना–९ पिपलडाँडामा करिब एक बिघा क्षेत्रफलमा स्मार्ट रिफ्रेस सेन्टर बन्न लागेको हो ।

दुई वर्ष भित्र सम्पन्न हुने गरी निर्माण हुन लागेको उक्त अत्याधुनिक रिफ्रेस सेन्टरको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार बिहान एक कार्यक्रमका बिच शिलान्यास गरे।

लामो दुरीका सवारी चालकहरुमा हुने थकान मेट्न र यात्रुलाई विश्राम लागि निर्माण गर्न लागिएको स्मार्ट रिफ्रेस सेन्टरमा निशुल्क शौचालय, चालकका लागि सुत्न स्मार्ट रुम, सावर रुम, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, स्तनपान एरिया, स्मोक जोन, कार वासिङ्ग, चार्जिङ स्टेशन लगायतका संरचना बन्ने भएका छन् ।

मुख्यमन्त्री पोख्रेलले सैनामैनामा निर्माण सुरु गरिएको स्मार्ट रिफ्रेस सेन्टर सडक यात्रा गर्नेहरुका लागि एउटा आराम गर्ने महत्वपुर्ण केन्द्रका रुपमा विकास हुने बताए । बाटोमा सवार गर्दा शौचको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारको पाँच वटा रिफ्रेस सेन्टर बनाउने लक्ष्य अनुसार पहिलो चरणमा रुपन्देहीको सैनामैना र कपिलवस्तुको चन्द्रौटामा रिफ्रेस सेन्टर जानकारी दिए । बढ्दो सडक दुर्घटना न्यूनिकरणका गर्नमा समेत यसले सहयोग पुर्याउने पोखरेलले विश्वास व्याक्त गरे ।

रिफ्रेश सेन्टर बनेपछि लामो दुरीका सवारी रिफ्रेश सेन्टरमा आएर चालक परिवर्तन गर्न सहज हुने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताए । रिफ्रेश सेन्टर सञ्चालनमा आएपछि बोटो किनारमा सवारी रोकेर आराम तथा शौच गर्न नपर्ने नगर प्रमुख कार्कीले विश्वास व्याक्त गरे ।

रिफ्रेस सेन्टरको शिलान्यास कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश सरकारको लगानीमा बन्न लागेको यस सेन्टरले नगरको विकास सँगै यहाँको जनताका जीवन स्तर उकास्नका लागि पनि कोशेढुङ्गा साबित हुने बताए। उनले हाइवेको अवस्था मध्यनजर गर्दै विकासको फड्को मार्ने गरि यस कार्यको सुरुवात गरिएको बताए ।

नेपाली कांग्रेसका उपसभापति फणिन्द्र शर्माले प्रदेश सरकारले ड्रिम प्रोजेक्टका रुपमा रिफ्रेस सेन्टरलाई अगाडि सारेकोले यस क्षेत्रका लागि गौरवको विषय भएको बताए।

निर्माण सम्पन्न भइसकेपछि सञ्चालन लागि प्रदेश सरकारले सैनामैना नगरपालिकालाई उक्त रिफ्रेस सेन्टर हस्तान्तरण गर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, योगीकुटीका महाशाखा प्रमुख ध्रुव कुमार धितालले जानकारी दिए।

दुई वर्ष भित्रमा स्मार्ट रिफ्रेस सेन्टरको निमार्ण कार्य सम्पन्न गर्ने गरी भिमेश्वर मामा जेभि सँग ठेक्का सम्झौता भएको महाशाखा प्रमुख धितालले बताए।