बारा र पर्सामा आएको हावाहुरी 'टोर्नाडो' भएको पुष्टि

बारा र पर्सामा आएको हावाहुरी 'टोर्नाडो' भएको पुष्टि

चैत २३, काठमाडौं । 
बारा र पर्सामा २७ जनाको ज्यान जानेगरी आएको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठ सहितको टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक ‘टोर्नाडो’ आएको पुष्टि गरेको हो ।

अमेरिकामा हरेक वर्ष १ हजार भन्दा बढी सङ्ख्यामा आउने ‘टोर्नाडो’ नेपालमा आएको यो पहिलोपटक हो । सामान्य हावाहुरी आएपनि यस्तो प्रकृतिको हुरी नेपालमा पहिलो पटक आएका कारण पनि आमरुपमा मानिसहरुले यसबारे चासो राखिरहेका छन् ।

आकाशबाट जमिनसम्म सोली आकारमा आउँने र निरन्तर वृत्ताकार घुमिरहने एक किसिमको भुमरीजस्तै हुरी नै 'टोर्नाडो’ हो । ६ महिनासम्म खडेरी परेपछि सन् १९८९ मा बाङ्लादेशमा आएको टोर्नाडोबाट १३ सय जनाको ज्यान गएको थियो । यो नै विश्व इतिहासको सबैभन्दा ठूलो 'टोर्नाडो'  हो ।