फेवातालमा अचानक पानी घट्नुको यस्तो छ वास्तविकता

फेवातालमा अचानक पानी घट्नुको यस्तो छ वास्तविकता

पोखरा, २५ माघ ।
अहिले सामाजिक सञ्जाल तथा टिकटकमा फेवातालमा अचानक पानी घटेको प्रसंग चर्चामा छ । 

सामाजिक सञ्जालमा फेवातालमा पानी आफै घट्यो भनेर एकथरी मानिसले भ्रम फैलाइरहेका छन् । तर त्यसको वास्तविकता भने फरक छ । 

फेवातालको ड्यामसाइडस्थित तालको बाँध जीर्ण भएपछि मर्मतसम्भारका लागि तालमा पानी घटाइएको हो । फेवातालको उक्त बाँध  ४२ वर्षपछि  मर्मतसम्भार हुन थालेको हो । विसं २०१८ मा बाँँधिएको ताल फुटेपछि  पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो ।

शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिर्माण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएकोले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मत गर्न लागेको हो ।  प्रमुख किरण आचार्यले भने, “२०३५ सालमा बाँधको संरचना निर्माणपछि हालसम्म ठूलो किसिमको मर्मत भएको थिएन, पहिला सङ्घले हेर्ने कार्यक्रम प्रदेश मातहतमा आएपछि यसप्रति चासो दिएर मर्मत गर्न लागिएको हो ।” 

उनका अनुसार ताल सिँचाइ प्रणालीका लागि २ करोड बजेट विनियोजन गरिएको छ । १ करोड बाँध निर्माणको लागि र १ करोड नहरका लागि विनियोजन गरिएको आचार्यले बताए ।  समुद्र सतहदेखि सात सय ९५.७ मिटरको उचाइमा रहेको बाँधको संरचना २० मिटर उचाइको छ । उक्त बाँधमा अहिले रबर सिल्ड र लन्चिङ एप्रोन राखेर मर्मत गरिनेछ उनले जानकारी दिए ।  

बाँध मर्मतको लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने आचार्यले बताए ।