कर्णाली नदी तर्न हुम्लावासीलाई तुइनकै भर, तुइन विस्थापित गर्ने सरकारी लक्ष्य विफल

कर्णाली नदी तर्न हुम्लावासीलाई तुइनकै भर, तुइन विस्थापित गर्ने सरकारी लक्ष्य विफल

हुम्ला, २७ माघ ।
सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म पनि स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । 

वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका–२ रिपगाउँका नागरिकले तुइनबाटै कर्णाली नदी तर्नुपरेको हो ।

पुल नहुँदा बर्षौदेखि तुइनको भरमा कर्णाली नदी तर्नु परिरहेको सर्केगाड–२ रिपगाउँका स्थानीयवासी जुनदेवी फडेराले बताईन् । हिउँदयाममा नदीको बहाव कम भएका कारण तुइन तर्न कम जोखिम भए पनि बर्खायाममा भने त्रासका बीच तुइन तर्नु परिरहेको फडेराले गुनासो गरिन । उक्त गाउँका २०० घरधुरीका बासिन्दा दाउरा, घाँसका लागि दैनिकरूपमा तुइन तर्ने गरेका छन् । घाँस र दाउरा पनि तुइनमै तार्नुपर्ने भएका कारण धेरै भारी नदीमा खसेको फडेराले बताईन ।

यस्तै हुम्लाकै अर्काे खार्पुनाथ गाउँपालिका–४ मा रहेको कर्णाली नदीमा समेत तुइनकै भर पर्नु अवस्था रहिरहेको छ । गाउँपालिकामा काम पर्दा तुइन तरेर जानुपर्ने बाध्यता नहटेको खार्पुनाथ–४ छिप्रागाउँका स्थानीयवासी बबरजङ्ग हमालले बताए । उक्त स्थानमा झोलुङ्गे पुल बनाउने योजना भए पनि निर्माण कम्पनीले हालसम्म नबनाएका कारण स्थानीयवासीलाई तुइनकै भर पर्नुपर्ने बाध्यता रहेको हमालले बताए । तुइन तर्दा धेरै स्थानीयवासीका हातमा चोट लागेको भन्दै केही महिना अगाडि एक जना स्थानीयवासी तुइनबाट खसेर घाइते भएको उनले सुनाए । खार्पुनाथ शिवालयबाट गाउँपालिका केन्द्रमा जाँदा बाटो लामो पर्ने भएका कारण स्थानीयवासी सबै तुइन नै तर्ने गर्छन् ।

त्यसैगरी खार्पुनाथ–२ बोक्चेगौडा क्षेत्रमा पनि तुइनबाटै स्थानीयवासी आवतजावत गर्ने गरेको बटुवा हिक्मत शाहीले बताए । पुलको योजना परे पनि निर्माण नहुँदा अहिलेको आर्थिक वर्ष गाउँपालिकाले कर्णाली नदी वारपार गर्न दुई स्थानमा सिमेन्टको पिलरसहितको तुइन निर्माण गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए । स्थानीयवासीको ज्यान जोखिममा पर्ने भएका कारण तुइन निर्माण गर्नुपरेको बताए । 

सरकारले तुइन विस्थापन गर्ने भनेको भए पनि हुम्ला जिल्लाभरि कर्णाली नदीमाथि आधा दर्जन तुइन निर्माण भएका छन् ।-रासस