नक्कली साढे ७ करोडभन्दा बढि भारतीय रुपैयाँसहित ६ जना पक्राउ

नक्कली साढे ७ करोडभन्दा बढि भारतीय रुपैयाँसहित  ६ जना पक्राउ
तस्विर : file photo

जेठ १०, काठमाडौं । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लुकाईछिपाई ल्याएको भारतीय ७ करोड ६७ लाख ९४ हजार नक्कली रुपैयाँ सहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

कतार एयरको फ्लाइट नम्बर क्यु आर ६४४ द्वारा काठमाडौं आगमन भएका पाकिस्तान नागरिकहरुलाई विशेष सूचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार एरियामा जाँच गर्ने क्रममा लगेजभित्र लुकाईछिपाई ल्याएको उक्त भारतीय रुपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरको हो । 

पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु राहदानी नम्बर एआर २४०६४३२ बाहक ६७ वर्षीय नासिर उद्दिन, राहदानी नम्बर एए १३४५४९४ बाहक ४९ वर्षीय मोहमद अख्तर र राहदानी नम्बर सिएन १८२२०३२ बाहक ३९ वर्षीय नादिया अनवर रहेका छन् । 

विशेष ब्युरो र विमानस्थल प्रहरीले उनीहरूलाई रिसिभ गर्न नेपालबाट मान्छेहरू विमानस्थल आएको सूचना पाएको थियो। ललितपुरका युनिस अन्सारी, उनका साला रौतहट बस्ने सुयल खान र अन्सारीका गाडी चालक भक्तपुरका सुदन रानाभाटलाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौंले दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेका  सबै छ जनालाई सार्वजनिक गरेको छ। यीमध्ये अन्सारी यसअघि पनि नक्कली भारतीय नोटको कारोबार मुद्दामा जेल परिसकेका थिए ।