चार वर्ष बित्दा पनि सम्पन्न भएन ढोलाहिटी–लेले सडक

चार वर्ष बित्दा पनि सम्पन्न भएन ढोलाहिटी–लेले सडक

काठमाडौँ, २८ माघ ।
विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भएको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति मात्र ५५ प्रतिशत रहेको छ ।

सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म चौडाइ विवादकै कारण काम अघि बढ्न नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

यस सडक खण्डमा वन क्षेत्रमा बाहेक अन्यत्र बस्ती क्षेत्रमा चौडाइ बढाउन नसकिएको आयोजनामा सूचना अधिकारी लक्ष्मण देवकोटाले बताउछन् । उनका अनुसार बस्ती क्षेत्रमा चार÷पाँच मिटर चौडाइमा नै कालोपत्र भइरहेको छ ।  “जतिमा गर्न सकिन्छ त्यतिमा कालोपत्र गरेर पनि चाँडो टुङ्ग्याउन लागिएको छ,” उनले भने । 

सरकारले गत वर्ष विस्तारका क्रममा रहेका सडकमा जति चौडाइ उपलब्ध हुन्छ त्यतिमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत सडक विभागले निर्माण व्यवसायीलाई निर्माणस्थल उपलब्ध गराउन सकेको थिएन । सडक छेउका घरहरुले घर भत्काउन नमानेपछि सडक खाल्डैखाल्डा भएको थियो । सडकको प्रयोग गर्ने धेरै सवारी चालकले समेत कठिन यात्रा गर्नुपरेको थियो । 

सडक चाँडो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पटक–पटक सडक अवरुद्धसमेत गरेका थिए । सङ्गठितरूपमा घर भत्काउन नमानेका स्थानीयवासीले नै उपलब्ध चौडाइमा चाँडो कालोपत्र हुनुपर्ने माग गर्दै आएका थिए ।