पशुपतिनाथ मन्दिरमा कोरोनाका कारण रोकिएको विशेष पूजा फागुन २५ देखि हुने

पशुपतिनाथ मन्दिरमा कोरोनाका कारण रोकिएको विशेष पूजा फागुन २५ देखि  हुने

काठमाडौं, १९ फागुन ।   
पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण  एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । 

कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए। हाललाई १ हजार १ सय देखि २७ हजारसम्मका विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा १ हजार १०० देखि २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने ५ हजार १ सय र ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी दिए । महाशिवरात्रिका दिन ५ हजार १ सयको रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक ९ देखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट ९ करोड ४० लाख ९३ हजार १ सय ४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करीब ९ महिना मन्दिर बन्द हुदा  ६ करोड एक लाख ८९ हजार ४ सय ७५ आय भएको कोषाध्यक्ष थापाले बताए ।