काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

काठमाडौं, १४ वैशाख । 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै वैशाख १६ गते बिहान ६ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । 

कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि जिल्ला प्रशासनले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी निषेधाज्ञा गर्ने भएको छ । मन्त्रिपरिषद्ले कोरोना महामारी नियन्त्रण गर्न सङ्क्रमण बढी भएका ठाउँहरूमा सङ्क्रमितको सङ्ख्याका आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र तराई/मधेशको हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने सीसीएमसीको सिफारिस पनि  पारित गरेको हो।  

 बैठकले अन्तर्राष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडानबाट आएका नेपालीलाई १० दिन होम क्वारेन्टिन र नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउने विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ।  पठनपाठन अनलाइनमार्फत मात्रै सञ्चालन गर्न र अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।