तिलोत्तमाका जनप्रतिनिधि जसले, आफूहरु चढ्ने गाडी अस्थायी एम्बुलेन्स बनाए

तिलोत्तमाका जनप्रतिनिधि जसले, आफूहरु चढ्ने गाडी अस्थायी एम्बुलेन्स बनाए

बुटवल, २३ वैशाख ।   
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा ल्याएका छन्।

नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् । सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स समयमा नपाउने र एम्बुलेन्स सेवा पर्याप्त नभएपछि नगरप्रमुख र उपप्रमुखले आफूहरुले चढ्दै आएका दुई गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाउने निर्णय गरेका हुन्।

यसअघि नगरपालिकामाको मातहतमा दुईवटा एम्बुलेन्स सञ्चालनमा थिए। नगरप्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीको चाबी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरेका छन् ।दअब चार सवारी साधनले कोरोना सङ्क्रमित बिरामीलाई बोक्नेछन् । 

छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी कोरोना सङ्क्रमितका लागि प्रयोगमा ल्याइएको नगरप्रमुख घिमिरेले बताए। कोरोना महामारीको विकराल रूप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताईन् ।

नगरप्रमुखले प्रयोग गर्ने लु१झ ३६० र उपप्रमुखले प्रयोग गर्ने लु१झ ३२६ नम्बरको स्कारपियो आजैदेखि कोरोना सङ्क्रमितलाई बोक्न प्रयोगमा आएका छन् । यस्तै नगर प्रहरीले प्रयोग गर्ने लु१झ ४७२ पनि कोरोना व्यवस्थापनमै प्रयोग हुने नगरपालिकाले जानकारी दिएको छ । यी सवारीसाधनलाई समेत २४सै घण्टा सेवाप्रवाह गर्ने गरी तयारी अवस्थामा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकामा रहेका एम्बुलेन्स र एम्बुलेन्सको रुपमा प्रयोग हुने थप दुई सवारी साधन स्वास्थ्य शाखामार्फत परिचालित हुनेछन् । यी सवारी साधनले मुलतः नगरपालिकाभित्रका कोरोना सङ्क्रमितलाई घरबाट अस्पताल वा आइसोलेशन तथा अस्पताल वा आइसोलेशनबाट बिरामीको घरसम्म पु¥याउनेछन् ।

नगरपालिकाले विद्यालय नर्स कार्यक्रममा रहेका १२ नर्सलाई समेत कोरोना सङ्क्रमितको उपचारमा खटाएको छ । नगरपालिकामा यही वैशाख १५ गते यता कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै जाँदा हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै १ हजार ३०० पुगेको छ ।

नगरपालिकाले शङ्करनगरमा ४० श्यया क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिने गरी आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । यस्तै वडा नं ९ मा रहेको सभाहलमा थप ६० श्ययाको आइसोलेशन बनाउने गरी काम अघि बढाइएको छ ।