कोरोना संक्रमणमा दैनिक नयाँ रेकर्ड, मृत्यु पनि हालसम्मकै उच्च

कोरोना संक्रमणमा दैनिक नयाँ रेकर्ड, मृत्यु पनि हालसम्मकै उच्च

काठमाडौं, २२ वैशाख । 
नेपालमा पछिल्लो चार दिन कोरोना संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । २४ घण्टामा पनि अहिलेसम्मकै धेरै संक्रमित र मृत्युको रेकर्ड कायम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ७ सय ५६ पीसीआर र ६१६ एन्टीजेन परीक्षण गर्दा ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ३ लाख ५९ हजार ६६० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ४७५ पुगेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार हाल देशभर ६६३५२ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना सङ्क्रमित कोरोनामुक्त भएको उनले जानकारी दिए।

आज काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३,८३५ जना संक्रमित थपिएका छन् ।