नेपालमा पहिलोपटक मानिसमा देखियो 'बर्ड फ्लु'

नेपालमा पहिलोपटक मानिसमा देखियो 'बर्ड फ्लु'
तस्विर सौजन्य : KCRG

वैशाख १९, काठमाडौं । 
पंछीहरुमा अत्याधिक मात्रामा देखिने बर्ड फ्लु रोग मानिसमा पनि भेटिएको छ । बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक गत चैत १० गते अस्पताल भर्ना भएका थिए । भोलिपल्ट उनको घाँटीको र्‍याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो । सोही दिन उनलाई इन्फ्लुयन्जाविरुद्धको औषधिसमेत दिइएको थियो तर, १५ चैतमा उनको उपचारकै क्रममा मृत्यु भयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले भाइरसको प्रकार पत्ता नलागेपछि विश्व स्वास्थ्य संगठन जापानस्थित प्रयोगशालामा र्‍यालको नमूना पठाइएको थियो ।

वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एच फाइभ एन वानबाट मानिस संक्रमित भएको यो पहिलो घटना हो ।