बालुवाटार जग्गा प्रकरणमा दोषी देखिए कसैलाई छोडिन्न : सञ्चारमन्त्री बाँस्कोटा

बालुवाटार जग्गा प्रकरणमा दोषी देखिए कसैलाई छोडिन्न : सञ्चारमन्त्री बाँस्कोटा

वैशाख १९, काठमाडौं । 
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गामा प्रकरणमा सत्य प्रमाण देखिए जो सुकै भएपनि कारबाही गर्ने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘बालुवाटार जग्गामा चारतारे, लालतारे कसैलाई सरकारले छुट दिन सकिदैन।’

मन्त्री बाँस्कोटाले सरकारी जग्गा हिनामिना प्रकरणमा नेकपा, नेपाली कांग्रेस जुनसुकै पार्टीका नेता वा पूर्वमन्त्री जोसुकै जोडिए पनि दोषी देखिए वा सत्य प्रमाण देखिएमा दोषीउपर कडा कारबाही गर्ने दृढता व्यक्त गरेका हुन् ।

प्रश्न विष्णु पौडेल, शेरबहादुर देउवा वा सुवर्ण शमशेरको होइन। प्रमाण भेटिए कारबाही हुन्छु उनले भने, 'सरकार यस विषयमा आँखा चिम्लिने, पिठ्यूँ फर्काउनेवाला छैन।'

बालुवाटारको जग्गा व्यक्तिको नाममा पुगेको विषय बाहिर आएपछि सरकारले छानबिन समिति बनाएर काम अघि बढाइरहेको बेला उल्टै सरकारको खेदो खन्ने गरिएको भन्दै उनले आपत्ति जनाए। मन्त्री बाँस्कोटाले भने, 'यो विषय उठान भएपछि सरकारले काम गरिँरहँदा उल्टो खेदो खनेकोमा टिठ लागेर आउँछ।'

नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन सरकार तयार भएको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, 'सरकारले क्षतिपूर्ति दिँदैन। जसले ठग्यो, त्यही गिरोहले तिर्छ।'