२३ गते ओली समूहको नेकपा आयोजना गरेको जनसभा नारायणहिटी सडकमा हुने

२३ गते ओली समूहको नेकपा आयोजना गरेको जनसभा नारायणहिटी सडकमा हुने

काठमाडौं, १८ माघ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा नारायणहिटी सडकमा हुने भएको छ । 

प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा भएको नयाँ परिस्थितिमा माघ २३ गते काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई छनोट गरिएको छ । 

जनसभा कमिटीले सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ । 

कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको  बताए। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका  सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति समेत हुने भएको छ ।

सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । यस्तै प्रदेशका सबै पालिकामा ३० सय १ र वडास्तरमा १ सय १ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १ सय १ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५ सय १ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु र नेपाल खेलकूद महासङ्घले स्वयम्सेवक परिचालन गर्ने जनाइएको छ ।
    
२३ गते माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने भएका छन् ।  जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने  कमिटीले जनाएको छ ।

 

सभाको तयारीका लागि माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकलको य्यालीसमेत गरिने जनाइएको ।