भ्याक्सिन प्रकरणबारे सरकारलाई विवेकशील साझाको ४ प्रश्न

भ्याक्सिन प्रकरणबारे सरकारलाई विवेकशील साझाको ४ प्रश्न

काठमाडौं, २४ वैशाख । 
विवेकशील साझा पार्टीले कोरोना खोप कमिसन प्रकरणबारे सरकारमाथि ४ प्रश्न उठाएको छ। विवेकशील साझाका प्रवक्ता शरदराज पाठकद्वारा  शुक्रबार जारी गरिएको  प्रेस विज्ञप्तिमा खोप खरिद प्रक्रियामा अवरोध गर्न व्यापारीमाथि किन कारबाही गरिएन भन्दै प्रश्न गरिएको छ ।

विवेकशील साझा पार्टी खोप प्रकरणबारे हालसम्म सार्वजनिक समाचार र तथ्यहरूको समीक्षा पश्चात् आफ्नो अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता ढाकछोप गर्न आंशिक रूपमा दोषको भागीदार देखिएका व्यापारीहरूको थाप्लोमा सम्पूर्ण दोष थोपरेर सरकार आफू चाहिँ चोखिने प्रयत्न गरिरहेको निष्कर्षमा पुगेको छ, विज्ञप्तीमा उल्लेख छ । 

भारतीय कम्पनीलाई पैसा तिरेर पनि प्राप्त हुन बाँकी १० लाख डोजसहित आवश्यक परिमाणको खोप अन्य मुलुकबाट चाँडो आयात गर्न विवेकशील साझाले सरकारसँग  माग समेत गरेको छ ।

 

विवेकशील साझाका ४ प्रश्न

१. महामारीजस्तो राष्ट्रिय र विश्वव्यापी सङ्कटका बेला यदि केही व्यापारीकै कारण खोप खरिद तथा आयातजस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको हो भने ती व्यापारीमाथि किन कारबाही गरिएन ?

२. केही व्यापारीका अगाडि निरीह देखिएर उनीहरूको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन मिल्छ रु फेरि, त्यस्ता व्यापारीहरू सरकार हाँक्ने नेताहरुबाटै संरक्षित छैनन् ?

३. भारतीय उत्पादकबाट खोप ल्याउन बिचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया समयमै अघि बढाउन चाहिँ सरकारलाई कसले अवरोध गर्‍यो ?
 
४. प्रधानमन्त्री केपी ‌ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए। मानिलिऊँ, कसैले अवरोध नगरेर भारतबाट थप ५० लाख डोज खोप सहजै आएको भए पनि त्यो प्रधानमन्त्रीले घोषणा गरे अनुरूप बाँकी नेपालीलाई खोप लगाउन पर्याप्त हुने थिएन। बाँकी खोप ल्याउन चाहिँ सरकारले हालसम्म के गरेको छ ?