नेविसंघका सभापति नैनसिंह महरले दिए राजीनामा

नेविसंघका सभापति नैनसिंह महरले दिए  राजीनामा
तस्विर सौजन्य : the kathmandu post

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । 

नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुको साटो पार्टीका नेताहरुबीच नै खिचातानी हुन लागेपछि आफूले पदबाट राजीनामा दिएको अध्यक्ष महरले जानकारी दिए । सोमबार सभापति देउवालाई राजीनामा बुझाउनु अघि उनले पत्रकार सम्मेलन गरी समयावधि सकिएकाले आफूले पदबाट राजीनामा दिएको स्पष्ट पारेका थिए ।

महरले सभापति देउवालाई बुझाएको राजीनामा पत्रमा १२ औं महाधिवेशन र स्ववियु निर्वाचन सम्पन्न गर्ने राजनिती अर्जुन दृष्टि हुँदाहुँदै विधानअनुसार नेविसंघको कार्यकाल सकिएको र पार्टीभित्र नेविसंघबारे मतान्तर भएकोले राजीनामा दिएको उल्लेख गर्दै अब पार्टीको राजनितीमा आफु सक्रिय रहने जानकारी दिएका  छन्।

११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद २०७५ भदौ २ गतेसम्म थियो । तर, आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिएको छ ।

यद्यपि नेपाली कांग्रेसले आगामी स्ववियु निर्वाचनसम्म यही कार्यसमितिलाई निरन्तरता दिने भनेको थियो । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने तयारी गरेको छ ।