कांग्रेस रुपन्देहीको पार्टी कार्यालय बन्यो स्वास्थ्यकर्मीको अस्थायी आवास गृह

कांग्रेस रुपन्देहीको पार्टी कार्यालय बन्यो  स्वास्थ्यकर्मीको अस्थायी आवास गृह

भैरहवा, २९ वैशाख। 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको पार्टी कार्यालय भैरहवाका स्वास्थ्यकर्मीकालागि अस्थायी आवास गृह बनाइएको छ ।

भैरहवामा रहेको पार्टी कार्यालयमा  २५ बेड तयार गरी भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाइ अस्थायी रुपमा आवासको लागि तयार गरिएको कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले जानकारी दिए । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महामारीका बेला बस्नलाई भएको असुविधालाई मध्यनजर गरी आवास गृहको रुपमा प्रयोगमा ल्याइएको उनले जानकारी दिए । 

"अहिले रुपन्देहीको अवस्था विकराल बनिसकेको छ, अक्सिजन नपाएर मर्नुपर्ने अवस्था आएको छ।," उनले भने, "यस्तो अवस्थामा भैरहवा वरपरका स्वस्थ्यकर्मी सहज होस भनेर हामिले आवास गृह बनाएका हौ।" उनले यस विपदको घडीमा सबै राजनीतिक दलका नेता, कार्यकर्ता, समाजका अगुवाहरु सबै मिलेर हातेमालो गरेर देशका लागि आफुले सक्दो सहयोग गर्नुपर्ने बताए । 

यस अघि नै कांग्रेस रुपन्देहीले पार्टी कार्यालयको  दुईतले भवन आइसोलेशन सेन्टर वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।