भारतमा एक करोड बढीले लगाए कोरोना विरुद्धको खोप

भारतमा एक करोड बढीले लगाए कोरोना विरुद्धको खोप
file photo

ऐजेन्सी, ७ फागुन ।  
भारतमा  जनवरी १६ देखि शुरु भएको कोरोना विरुद्धको खोप कार्यक्रममा हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । 

कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका तथा अग्रस्थानमा खटिने व्याक्ति रहेका छन् ।  कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड ९ लाख ६३ हजारभन्दा बढी पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार १९३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ९ लाख ६३ हजार ३९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १११ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा १ करोड ६ लाख ६७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा १ लाख ३९ हजार ५४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २० करोड ९४ लाख ४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र ७ लाख ७१ हजार भन्दा बढी व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।