यूएई विरुद्धको टी–२० शृङ्खला पनि जित्दै नेपालले रच्यो इतिहास  

यूएई विरुद्धको टी–२० शृङ्खला पनि जित्दै नेपालले रच्यो इतिहास  
तस्विर सौजन्य : icc cricket

 माघ २०,काठमाडौं ।  नेपालले युएईविरुद्धको टी-२० क्रिकेट शृंखलामा पनि २–१ को जित निकाल्दै ऐतिहासिक सफलता हात पारेको छ । 

आइतबार भएको तेस्रो टी-२०मा आयोजक युएइलाई १४ रनले हराएपछि नेपालले शृंखला कब्जा गरेको हो ।

पानी परेर १० ओभरमा छोट्याइएको खेलमा नेपालले युएइलाई १०५ रनको चुनौति दिएको थियो । ब्याटिङतर्फ नेपालका लागी  कप्तान पारस खड्काले सर्वाधिक २९ रन बनाउँदा सन्दीप जोराले २८ रन, बिनोद भण्डारीले २१ रन, करण केसीले १० रन र दीपेन्द्रसिंह ऐरीले २ रन को योगदान गरे ।

युएइले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।  युएईका लागि साइमान अनवरले सर्वाधिक ३० रन बनाए । यस्तै गुलाम शब्बेरले २५ रन र महोम्मद बुटाले ११ रन जोडे ।

नेपालको जित सुरक्षित गर्ने क्रममा करण केसी, ललितसिंह राजवंशी र अविनास बोहोराले दुई दुई विकेट लिए । यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए ।

पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल  दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै शृंखला बराबरी गरेको थियो। अन्तिम खेलमा जित दर्ता गरेपछि नेपालले शृंखला आफ्नो पक्षमा पारेको हो । यसअघि नेपालले युएई विरुद्धको एक दिवसीय सिरिज पनि २-१ ले जितिसकेको छ ।