चीनले अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने तयारी

चीनले अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने तयारी

ऐजेन्सी, २८ फागुन ।
चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्ने तयारी थालेको छ । 

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवाना सम्बन्धी समाचार छापिएको थियो । त्यसलगत्तै एएफपीले अलिबाबाका विषयमा चिनियाँ अधिकारीहरुसँग सम्पर्क गर्दा उनीहरुले यसबारेमा केही बताउन चाहेनन् । 

यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पु¥याएको आरोप लागेको थियो । 

चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन् । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।  तर अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक मा ले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि ज्याक मा र उनको व्यवसाय सरकारी निकायहरुको आँखाका तारो बनेका छन् ।