नागरिक समाजको प्रदर्शनमाथि गरिएको बल प्रयोग दुःखद्: दाहाल–नेपाल समूह

नागरिक समाजको प्रदर्शनमाथि गरिएको बल प्रयोग दुःखद्: दाहाल–नेपाल समूह

काठमाडौं, १३ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको बल प्रयोगको घटना दुःखद् भएको जनाएको छ । 

नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ विज्ञप्तिमार्फत संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत नागरिकले चालेको अग्रगमनको रक्षाका लागि भएको प्रदर्शनमाथि बल प्रयोगको विरोध गर्दै संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको अग्रसरता र सङ्घर्षशीलताप्रति ऐक्यबद्धता  प्रकट गरेका छन् ।
 
सोमबार निषेधित क्षेत्रमा प्रवेश गरेको जनाई प्रहरीले नागरिक समाजका अगुवामाथि बालुवाटार क्षेत्रमा पानीको फोहरा हान्दा केही सहभागी घाइते भएका थिए । 

वक्तव्यमा आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । शान्तिपूर्ण रुपले विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा त्यस्ता कार्यक्रममा हस्तक्षेप नगर्न दाहाल–नेपाल समूहले सरकारलाई आग्रह गरेको छ ।