आफ्नै पार्टीका नेताले पार्टीलाई चकनाचुर पार्न खाजे: अर्थमन्त्री पौडेल

आफ्नै पार्टीका नेताले पार्टीलाई चकनाचुर पार्न खाजे: अर्थमन्त्री पौडेल
file photo

काठमाडौँ, २४ माघ 
नेकपा केपी ओली समूहका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  नेकपा कम्युनिष्ट पार्टीका केहि नेताले पार्टीलाई चकनाचुर पार्न खाजेका बताएका छन्। 

पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेता पौडलेले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको बताए। 

“कम्युनिष्ट पार्टीप्रति जनताको भर र विश्वास गुमाएर पार्टीलाई चकनाचुर र विभाजन गर्न खोजियो”, उनले अघि भने, “कम्युनिष्ट आन्दोलन गर्न सक्दछन् । सरकार सञ्चालन गर्न सक्दैनन् भन्ने केही साथीहरुले देखाउनुभयो ।”

अर्थमन्त्री पौडेलले प्रचण्डनेपाल समूह निर्वाचनमा जान डराएको आशय व्याक्त गर्दै भने,“उहाँहरु चुनाव गर्न पाइँदैन भनेर निर्वाचन आयोगलाई धम्क्याउँदै हुनुहुन्छ, निर्वाचनसँग डराएर जुन प्रकारले निर्वाचन रोक्ने चेष्टा गर्नुभएको छ त्यो हामी पूरा गर्न दिँदैनौँ ।” 

नेकपाका महासचिवसमेत रहेका नेता पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने बताए। “केहीले निर्वाचनमा जाने कुरालाई निरङ्कुश भनेर भ्रम फैलाइरहेका छन्”, उनले भने, “निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु ।”