कोरोना महामारी नियन्त्रणमा जिम्मेवार बन्न माग गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो १५ बुँदे ज्ञापनपत्र

कोरोना महामारी नियन्त्रणमा जिम्मेवार बन्न माग गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो १५ बुँदे ज्ञापनपत्र

काठमाडौं, ७ जेठ । 
नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा जिम्मेवार बन्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आज सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा भेटेर १५ बुँदे ज्ञापनपत्र  बुझाएका हुन् ।

कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकार गम्भिर बन्न, तत्काल सबैलाई तत्काल सबैलाई खोपको बन्दोबस्त गर्न माग गर्दै देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।

१५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसले खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न माग गरेको छ । अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन, नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रसले खोप ल्याउनका लागि कुटनीतिक पहल गर्न माग गर्दै खोप आपूर्ति गर्ने व्यवस्था बिचौलियारहित र पारदर्शी ढंगले गर्न आग्रह गरेको छ । नयाँ भेरियन्टले बालबालिका समेत प्रभावित हुनसक्ने विज्ञहरुले जानकारी गराइसकेको अबस्थामा सरकारले तत्काल संक्रमण कम गर्न पहल गर्नुपर्ने कांग्रेसको माग छ ।

नीजि अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क असुलेको गुनासो आएको भन्दै कांग्रेसले निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ ।

सरकारलाई ज्ञापनपत्र बुझाउन सभापति देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्रीहरु पुर्णबहादुर खड्का, सहमहामन्त्री डाक्टर प्रकाशशरण महत, डाक्टर शशांक कोइराला  र  प्रमुख सचेतक बालकुष्ण खाँण  प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । सरकारका तर्फबाट प्रधानमन्त्री, उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री लगायतका नेता उपस्थिति थिए ।