भर्चुअल माध्यमद्वारा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

भर्चुअल माध्यमद्वारा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

काठमाडौं, ४ असार ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा भौतिक रुपमा आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२१’ यसवर्ष भर्चुअल माध्यमबाट सुरु भएको छ । 

यही जून १७ देखि २० सम्म हुने महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १४ देशका ३० वटा चलचित्रहरु प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत निशुल्क हेर्न सकिनेछ । प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्मलाई पुरस्कृत पनि गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सव २०२१ का लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट फिल्महरुको पुरस्कार घोषणा गर्नेछ । नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन् । महोत्सवमा आवेदन परेका फिल्महरुलाई फिल्म सोसाइटीको फिल्म छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो ।