पशुपतिनाथ मन्दिरमा एक अर्बको सुनको जलप लगाइने

पशुपतिनाथ मन्दिरमा एक अर्बको सुनको जलप लगाइने

काठमाडौं, १८ माघ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । 

पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । यसका लागि १४२ किलोग्राम सुन लाग्ने कोषको प्रारम्भिक अनुमान छ । जलहरिका लागिमात्र १ सय ८ केजी सुन लाग्ने अनुमान गरिएको सदस्य सचिव ढकालले बताए ।

“कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र जलप लगाइसक्ने गरी प्रक्रिया शुरु भएको छ, यसका लागि करीब एक अर्ब बजेट लाग्ने अनुमान गरिएको छ,  ६५ करोड कोषसँग छ, ३० करोड सरकारले दिने भएको छ”, सदस्यसचिव ढकालले भने ।

सुनको जलहरि र जलप लगाएका बसाहा एवं छाना ३ सय  वर्षसम्म परिवर्तन गर्नु नपर्ने कोषले जनाएको छ । कम्तीमा सात पुस्तासम्म पुग्ने गरी दिगो काम गर्न लागिएको जनाइएको छ । कानूनी एवं धार्मिक विधि पुर्याएर यो काम गर्ने कोषको तयारी छ । सुनको जलहरि र जलपका लागि टेन्डर प्रक्रिया शुरु भइसकेको क्षेत्रविकास कोषले जानकारी दिएको छ ।

१० सय ८ ब्राह्मणबाट धार्मिक विधि पूरा गरेर काम अघि बढाइने र सुनको काम गर्ने कालीगढलाई कोषमै राखेर काम गराइने कोषले जानकारी दिएको छ । यससम्बन्धी विस्तृत विवरण महाशिवरात्रिअघि नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कोषको योजना छ ।  

चाँदीको जलहरि जीर्ण भएकाले शिवलिङ्गको फेदसम्म भगवान् अर्पण गरिएको पञ्चामृत, दूध, जललगायत पुग्दा बिग्रने भएकाले पनि पवित्र धातु सुन प्रयोग गर्ने निर्णय गरिएको कोषले जनाएको छ ।

प्यागौडा शैलीको पशुपतिनाथको छाना र बसाहामा यसअघि पनि सुनको जलप लगाइएको थियो । विसं २०१६ अघि नै लगाइएको जलप खुइलिन थालेपछि फेरि लेपन गर्न लागिएको हो ।  

गत सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं सवालाख दीप प्रज्वलन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलप लगाउन कोषलाई ३० करोड बजेट विनियोजन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीको निर्देशनलगत्तै बुधबार कोष सञ्चालक परिषद्को बैठकले सुनको जलहरि र जलपसम्बन्धी निर्णय गरेको छ । कोषको संरक्षक प्रधानमन्त्री र सञ्चालक परिषद्को अध्यक्ष संस्कृति मन्त्री रहने कानून व्यवस्था छ ।

अहिलेसम्म पशुपतिनाथ मन्दिरमा चाँदीको जलहरि छ ।