न्युजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड जित्यो विश्वकप क्रिकेटको उपाधि

न्युजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड जित्यो विश्वकप क्रिकेटको उपाधि
तस्विर सौजन्य : Cricbuzz

असार ३०, काठमाडौं । 
इंग्ल्याण्डले पहिलो पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

लण्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले पहिलो पटक उपाधि जितेको हो ।

लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो । सुपर ओभरमा इंग्ल्याण्डले दिएको १६ रनको लक्ष्य पच्छाएको न्युजिल्याण्डले १५ रन बनाएपनि सुपर ओभरमा धेरै बाउन्ड्री हानेका कारण  इंग्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि हात पारेको हो । 

सुपर ओभरमा जानुअघि इंग्ल्याण्डका बेन स्टोक्स र जोश बटलरले अर्धशतकीय इनिङ्स खेले । बटलर ५९ रनमा आउट भए  । स्टोक्सले अविजित ८४ रन बनाए  ।

न्युजिल्याण्डका जेम्स निशम र लकी फर्गुसनले ३/३ विकेट लिए  ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो ।

न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले । उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए ।

इंग्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुन्केटले समान ३/३ विकेट लिए ।