भारतीय अभिनेता अनुपम श्यामको निधन

भारतीय अभिनेता अनुपम श्यामको निधन

काठमाडौं, २५ साउन। 
बलिउडका अभिनेता अनुपम श्यामको निधन भएको छ। ६३ वर्षको उमेरमा उनको सोमवार गोरेगाउँको लाइफलाइन अस्पतालमा निधन भएको हो।

उनलाई लामो समयदेखि मिर्गौलाको समस्या थियो। मिर्गौलाकै समस्याका कारण चारदिन अघि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो।

उनलाई उच्च रक्तचाप र मधुमेहको समेत समस्या थियो। साथै, दुई दिन भेन्टिलेटरमा समेत राखिएको थियो।

 ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए ।

चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिए । मल्टिपल अर्गन फेलियरका कारण उनको निधन भएको बताउँदै पण्डितले चलचित्र र टिभी उद्योगलाई ठूलो क्षति पुगेको बताएका छन् ।

अनुपम श्यामको जन्म सन् १९७५ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो । चलचित्रमा धेरै नेगेटिभ रोलमा देखिने उनले स्लमडग मिलेनियर, ब्यान्डिट क्वीन, शक्ति, हल्लाबोल, पानसिंह तोमर, लगान, लज्जा, दुश्मन, सत्या आदि चलचित्रमा अभिनय गरेका छन् ।