मौद्रिक नीतिमार्फत राहतको माग गर्दै निर्माता र चलचित्र संघले अर्थमन्त्री शर्मालाई बुझाए ज्ञापनपत्र

मौद्रिक नीतिमार्फत राहतको माग गर्दै निर्माता र चलचित्र संघले अर्थमन्त्री शर्मालाई बुझाए ज्ञापनपत्र

काठमाडौं, १४ साउन । 
कोरोनाले थलिएको चलचित्र क्षेत्रलाई सहजीकरण गर्नका लागि सरोकारवालाले मौद्रिक नीतिमा आर्थिक राहतको व्यवस्था गर्न माग गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएका छन् ।

बुधवार चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, नायक भुवन केसी, निर्देशक उदय सुब्बा लगायतको टोलीले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै चलचित्र क्षेत्रलाई अतिप्रभावित प्राथमिकतामा राख्न, सुलव कर्जाको व्यवस्था गर्न, डेविड भिषाकार्डको मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले मौद्रिक नीतिमा तीन वर्षपछिबाट साँवा ब्याज बुझाउने गरी ७ वर्षका लागि सुलभ कर्जा प्रवाह गर्नुका साथै २०७७ को मौद्रिक नीतिमा झैं यस वर्ष पनि चलचित्र उद्योगलाई अति प्रभावित क्षेत्रमा राख्न संघले माग राखेका हुन्।

कोरोनाका कारण चलायमान हुन नसकेको फिल्म घरको विद्युत महशुल ३ वर्ष सम्मको मिनहा गर्नुपर्ने बताएका छन् । साथै, दूतावासमार्फत् विदेशी भूमिमा फिल्म महोत्सव आयोजना गर्न बजेट विनियोजन, सुविधा सम्पन्न आउटडोर सुटिङ स्टूडियो निर्माणको कार्यान्वयन, श्रमजीवि फिल्मकर्मीले प्राप्त गर्ने पारिश्रमिकमा काटिँदै आएको कर आगामी २ वर्षका लागि छुट गर्न माग गरिएको छ ।

कोभिड –१९ का कारण नेपाली फिल्म क्षेत्र डेढ वर्ष देखि नराम्ररी प्रभावित बनेको छ । कोरोनाकै कारण कतिपय हलहरु सधैका लागि समेत बन्द भएका छन् ।