३४ लाख नगद सहित हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ

३४ लाख नगद सहित हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ

जेठ ५, काठमाडौं । 

काठमाडौं चावहिलबाट अवैध रुपमा हुण्डी कारोबारमा संलग्न ३ जनालाई नगद ३४ लाख ८९ हजार ३ सय रुपैयाँ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं हात्तीगौडा बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका-२ का ३६ वर्षीय अर्जुन राई, भक्तपुर सूर्यविनायक बस्ने सुनसरी बराह नगरपालिका-९ का ४० वर्षीय जगत खड्का र कपन बालुवाखानी बस्ने  २३ वर्षीय सुनिल राई रहेका छन् । 

हुण्डीको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्ल समेतको प्रहरी टोलीले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद, कागजात र पैसा गन्ने उपकरण सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई राजश्‍व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।