मन्त्रीसरह नै सुविधा पाउने गरी खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

मन्त्रीसरह नै सुविधा पाउने गरी  खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त
तस्विर सौजन्य : द हिमालयन टाइम्स

३० भाद्र, काठमाडौं ।
सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी बताए । 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा खतिवडालाई मन्त्रीसरह सुविधा पाउने गरी आर्थिक सल्लाहकार नियुक्त गरिएको प्रवक्ता ज्ञवालीले बताए । ‘डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको छ’, प्रवक्ता ज्ञवालीले भने ।

राष्ट्रियसभा सदस्य कार्यकाल भदौ २० मा सकिनुअघि नै खतिवडाले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थमन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैँले लिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली डा. खतिवडालाई नै राष्ट्रियसभामा मनोनीत गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्थे तर पार्टीभित्र उनको ठाउँमा वामदेव गौतमलाई मनोनीत गर्न तीब्र दबाब आएपछि ओली पछि हटेका थिए । 

सरकारले वामदेव गौतमलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिसकेको छ ।

आर्थिक सल्लाहकार नियुक्त गरेर छायाँ अर्थमन्त्रीका रूपमा डा. खतिवडाबाटै मन्त्रालयको कार्यसञ्चालन पथमा ओली लागेको स्रोत बतायो ।